टोकियो । जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताएका छन् । टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखाको १२औं वार्षिक उत्सव कार्यक्रम जापानका लागि नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नेक्रममा सो कुरा बताएका हुन् । राजदूत सुवेदीले दूतावासको टेलिफोन नउठ्ने लगायतको जापानबासी नेपालीहरुको गुनासोलाई सम्बोधन गर्दै,यो समस्याको समाधान छिट्टै गरिने प्रतिवद्धता समेत दोहोर्याएका छन् । उक्त समारोहमा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो । स्थापना दिवस विशेष कार्यक्रमको अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक सभापति तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष तथा महासंघका संस्थापक सल्लाहकार भूषण घिमिरे, नेपाल आदिवासी जनजाति महासंघजापानका अध्यक्ष संजीब राई, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाश केसी,अन्तर्राष्ट्रिय अधिवक्ता डा.बलराम श्रेष्ठ,एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग लगाएत व्यक्तित्वहरुले शुभकामना व्यक्त गरेका थिए। नेपाल पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको थियो । उक्त शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम महासंघका सचिव राजन गौतमले संचालन गरि उपाध्यक्ष ईन्दिरा खनालले स्वागत मन्तव्य र अध्यक्ष शान्त पहरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।