Logo बिहिवार, आश्विन २२ गते २०८३
Logo बिहिवार, आश्विन २२ गते २०८३
  • fnjjapan2017@gmail.com
समाचार

औपचारिकताको साङ्लोमा नेपाली कार्यक्रमहरूः अब शैली बदल्ने कि ?

रविन्द्र श्रेष्ठ (गोर्खाली)

जापानमा नेपाली समुदायको जनघनत्व दिनानुदिन बढिरहेको छ । यस सँगै आयोजना हुँदै आएका सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिको आयाम पनि व्यापक बन्दै गएको छ ।

प्रवासी भूमिमा क्रियाशील विभिन्न संघ–संस्थाले आयोजना गर्ने कार्यक्रमले नेपाली भाषा, कला, संस्कृति र राष्ट्रिय पहिचानलाई जीवन्त राख्न मात्र होइन, आपसी भातृत्व र सामीप्यतालाई प्रगाढ बनाउन समेत प्रसंशनीय भूमिका निर्वाह गर्दै आएको तथ्य तपाई हाम्रा अघि छर्लङ्गै छन् ।

नयाँ पुस्तालाई आफ्नोपन र माटोसँग जोड्ने, सुख–दुःखको चौतारी बन्ने र सामुदायिक सद्भावको जगलाई अझै मजबुत तुल्याउने कार्य यिनै गतिविधिहरूबाट सम्भव भएको छ । त्यसैले प्रवासी जीवनको व्यस्तता र निरसता बीच यस प्रकारका कार्यक्रमहरू ऊर्जा र गौरवका अनुपम स्रोत हुन् भन्ने कुरामा दुई मत छैन । त्यसैले यस्ता गतिविधि प्रवासी जीवनको अत्यन्त महत्वपूर्ण हिस्सा हुन् । तथापि नेपाली समुदायको क्षितिज फराकिलो बन्दै जाँदा कार्यक्रम सञ्चालनको परम्परागत शैली र पद्धति माथि गहन आत्मसमीक्षा गर्नु पर्ने बेला आइसकेको छ ।

पछिल्ला केही वर्षमा कार्यक्रमको संख्यात्मक वृद्धि त भएको छ । तर तिनको गुणात्मक प्रभावकारिता र व्यवस्थापकीय कौशलमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् । अधिकांश कार्यक्रमहरु एउटै पुरातन ढाँचामा सीमित हुनु, अत्यधिक औपचारिकता हुने, कार्यक्रम बिना नै आसन ग्रहण र मन्तव्यका शृङ्खला अनियन्त्रित रूपमा लम्ब्याइनु तथा समयको व्यवस्थापनलाई उपेक्षा गर्नु वर्तमानका मुख्य चुनौती हुन् । विशेष गरी सहभागीहरूको धैर्य र अमूल्य समयलाई ध्यान नदिँदा कार्यक्रमहरू बोझिला, लामो र थकाइपूर्ण बन्ने गरेका छन् ।

जापान जस्तो व्यस्त जीवनशैली भएको देशमा अधिकांश मानिसले आफ्नो पेसा, काम, परिवार र व्यक्तिगत जिम्मेवारी बीच समय मिलाएर कार्यक्रममा सहभागिता जनाउँछन् । यसरी आफ्नो ऊर्जावान समय खर्चिएर आएका सहभागीहरुले छिटो, छरितो, सुव्यवस्थित, बौद्धिक प्रस्तुति र अर्थपूर्ण कार्यक्रमको अपेक्षा गर्नु स्वाभाविक हो । तर कतिपय अवस्थामा कार्यक्रमहरू यति लामो हुने गर्छन् कि कार्यक्रम समापनको घडीसम्म पुग्दा दर्शकदीर्घा शून्यप्रायः भइसकेको हुन्छ । यसको मुख्य कारण भनेको दूरदर्शिताको कमी र अनियोजित कार्यक्रम सञ्चालन पद्धति नै हो । कतिपय कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा वक्ताहरू पहिल्यै निश्चित गरिएको हुँदैन । कार्यक्रम सुरु भएपछि पनि मञ्चमा आसन थप्दै जाने आतिथ्यताले व्यवस्थापनलाई गन्जागोल बनाउँछ भने पद र प्रतिष्ठाकै लागि पनि माइक समाउनै पर्ने दबाब सिर्जना हुँदा कार्यक्रमको मूल उद्देश्य नै ओझेलमा पर्छ । औपचारिकताको यो मोहले कार्यक्रमको जीवन्तता समाप्त हुन्छ ।

कुनै पनि सार्वजनिक समारोहको प्राण र केन्द्रविन्दु भनेकै दर्शक तथा सहभागी हुन् । कार्यक्रम आयोजकले मञ्च वा पदीय महत्व भन्दा महत्वपूर्ण कुरा दर्शक र सहभागीहरूको सुखद अनुभूति धेरै गुणा मूल्यवान हुन्छ । यदि सहभागीहरूले नै कार्यक्रमलाई बोझिलो र पट्यारलाग्दो महसुस गर्न थाले भने त्यसले आयोजकको मेहनत, श्रम, लगानीलाई कमजोर मात्रै बनाउँदैन निरर्थक साबित हुन्छ । त्यसैले अब कार्यक्रम सञ्चालन गर्दा ‘दर्शकले के चाहिरहेका छन् ? र उनीहरुको समयलाई कसरी न्याय गर्न सकिन्छ ?’ भन्ने प्रश्नलाई केन्द्रमा राख्न आवश्यक छ ।

आजको सचेत र आधुनिक पुस्ता लामो र निरस भाषण सुन्न उतिसारो तयार देखिदैन । दोहोरिने कुरा, कृत्रिम र अत्यधिक प्रशंसा तथा अनावश्यक औपचारिकता भन्दा स्पष्ट विचार, उपयोगी सूचना, रचनात्मकता र समयको सम्मानलाई उच्च प्राथमिकता दिन्छ । तसर्थ, हाम्रा कार्यक्रमहरु समय र पुस्ता अनुकूल रुपान्तरित हुनु जरुरी छ । जापान अनुशासन र समय व्यवस्थापनको संस्कृतिका लागि विश्वमै परिचित देश हो । यहाँ अधिकांश कार्यक्रम निर्धारित समयमै सुरु हुन्छन् र निश्चित समयमै समाप्त हुन्छन् । वक्ताहरू सीमित हुन्छन्, प्रस्तुति केन्द्रित हुन्छ र सहभागीको समयलाई उच्च सम्मान गरिन्छ ।

यही कारण जापानका कार्यक्रमहरू छोटो भए पनि प्रभावकारी हुन्छन् । हामी जापानमै बसेर पनि यदि अझै अव्यवस्थित, भद्दा र औपचारिक शैलीलाई निरन्तरता दिइरहेका छौं भने अब त्यस बारे आत्मसमीक्षा आवश्यक छ । यसले हाम्रो चेतना र संस्कृति माथि समेत प्रश्न उठाउँछ । प्रवासी नेपाली समुदाय अब पहिलेको जस्तो सीमित अवस्थामा छैन । विभिन्न क्षेत्रमा सफल, शिक्षित र व्यावसायिक रूपमा स्थापित नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । त्यसैले कार्यक्रम सञ्चालनको स्तर पनि सोहीअनुसार परिपक्व र सुसंस्कृत हुनु पर्छ । कार्यक्रमको पहिलो सुधार मञ्च व्यवस्थापनबाट सुरु गरिनु पर्छ । मञ्चलाई भिडभाड जम्मा गर्ने थलो बनाउने भन्दा पनि कार्यक्रमको उद्देश्यअनुसार आवश्यक र निश्चित व्यक्तिलाई मात्रै मञ्चमा राख्ने अभ्यास गर्दा मञ्चको गरिमा र आकर्षण दुवै चुलिन्छ ।

अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथि तथा कार्यक्रम सञ्चालनसँग प्रत्यक्ष सम्बन्धित व्यक्तिहरूलाई सीमित रूपमा मञ्चमा राख्दा कार्यक्रम व्यवस्थित देखिन्छ । मञ्चलाई अनावश्यक भीडयुक्त बनाउँदा कार्यक्रमको आकर्षण र गरिमा दुवै कमजोर हुन्छन् । दोस्रो महत्वपूर्ण विषय वक्ताहरूको संख्या हो । सबैलाई बोल्न दिनुपर्ने संस्कृतिले कार्यक्रमलाई प्रभावकारी बनाउँदैन । बरु सहभागीहरू थाक्ने र मुख्य विषय ओझेलमा पर्ने अवस्था सिर्जना हुन्छ । सम्बन्धित विषयका जानकार, अनुभव भएका तथा सहभागीहरूलाई उपयोगी सन्देश दिन सक्ने व्यक्तिहरूलाई प्राथमिकता दिनु पर्छ ।

तेस्रो कुरा समय व्यवस्थापन अझ महत्वपूर्ण पक्ष हो । प्रत्येक वक्ताका लागि निश्चित समय तोकिनु पर्छ र त्यसलाई कडाइका साथ पालना गरिनु पर्छ । पाँच मिनेटका लागि बोलाइएको व्यक्तिले बीस मिनेट बोल्ने अवस्था रहिरहँदा कुनै पनि कार्यक्रम व्यवस्थित हुन सक्दैन । समयको सम्मान गर्नु भनेको सहभागीहरूको सम्मान गर्नु पनि हो ।

चौथो, स्वागत तथा सम्मान संस्कृतिमा पनि सन्तुलन आवश्यक छ । सम्मान गरिनु राम्रो कुरा हो, तर त्यसलाई अत्यधिक प्रदर्शनमूलक बनाउन आवश्यक छैन । सरल, सभ्य र मर्यादित सम्मानले पनि उत्तिकै सम्मानको अनुभूति दिलाउन सक्छ । अत्यधिक खादा माला, लामो सम्मान क्रम तथा पटकपटक एउटै प्रक्रिया दोहोरिँदा कार्यक्रमको गति कमजोर हुन्छ ।

अर्को महत्वपूर्ण विषय भनेको कार्यक्रमको मार्गचित्र र उद्देश्य स्पष्ट हुनु पर्छ । कतिपय कार्यक्रममा मुख्य विषयभन्दा अन्य कुरा बढी हाबी हुने देखिन्छ । यदि कार्यक्रम सांस्कृतिक हो भने सांस्कृतिक पक्षलाई प्राथमिकता दिनु पर्छ । यदि कार्यक्रम प्राज्ञिक वा वैचारिक बहसको हो भने तर्क वितर्क र निष्कर्षले प्राथमिकता पाउनु पर्छ । उद्देश्य एकातिर र प्रस्तुति अर्कोतिर हुँदा कार्यक्रम लयबाट बाहिर जान्छ र कार्यक्रमको प्रभावकारिता समाप्त हुन्छ ।

आजको डिजिटल र सामाजिक सञ्जालको युगमा मानिसहरु ‘छोटो र मीठो’ कार्यक्रम चाहन्छन् । त्यसैले कार्यक्रमहरू पनि सहभागी मैत्री, आकर्षक र व्यवस्थित बनाउन आवश्यक छ । नयाँ पुस्तालाई आकर्षित गर्न आधुनिक प्रस्तुति शैली, अन्तरक्रिया र सृजनात्मक कार्यक्रम सञ्चालनको आवश्यकता महसुस हुन थालेको छ ।

अन्त्यमा, विभिन्न संघ–संस्थाहरुबीच स्वस्थ सहकार्य र समन्वयको भावना विकास हुन अपरिहार्य छ । कहिलेकाहीँ कार्यक्रमहरू प्रतिष्ठा प्रदर्शनको माध्यम बन्ने गरेका छन् । कसले कति ठूलो कार्यक्रम गर्‍यो, कसको मञ्च ठूलो भयो भन्नेमा प्रतिस्पर्धा आवश्यक छैन । साँचो अर्थमा त्यो कार्यक्रम सफल हो, जसले समापनपछि हलबाट बाहिरिदै गर्दा प्रत्येक सहभागीको अनुहारमा सन्तुष्टि होस् र मनमा आफूले दिएको समयमा गौरवबोध होस् ।

अब जापानमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरुले सामूहिक विवेक प्रयोग गरेर कार्यक्रम सञ्चालनको मार्गचित्र बदल्ने बेला भएको छ । कार्यक्रमलाई औपचारिकताको साङ्लोबाट मुक्त गराई समयको कदर गर्दै दर्शक उन्मुख र परिणाममुखी सांस्कृतिक चेतनाको विकास गर्नु आजको अपरिहार्य आवश्यकता हो । समुदायको बौद्धिक स्तर र परिपक्वता हाम्रा कार्यक्रमहरुका ऐना हुन् अर्थात् समुदायको परिपक्वता कार्यक्रमबाट झल्किन्छ । त्यसैले अब कार्यक्रमलाई अनावश्यक लम्बेतान भन्दा गहिराई अर्थात् सार्थकता र व्यवस्थित प्रस्तुतिमा, भीडमा होइन गुणस्तरमा र औपचारिकतामा नभई प्रभावकारितामा केन्द्रित बन्ने समय आएको छ ।

लेखक श्रेष्ठ नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष हुन् ।
IMG_8857.jpeg