Logo बिहिवार, आश्विन २२ गते २०८३
Logo बिहिवार, आश्विन २२ गते २०८३
  • fnjjapan2017@gmail.com
समाचार

वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघ जापान शाखाको आपत्ति

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विरोध गरेको छ ।

जापान शाखाले समाचार प्रकाशन, सम्पादकीय सामग्री वा अभिव्यक्तिसँग सम्बन्धित विषयलाई लिएर पत्रकारमाथि धरपकड तथा गिरफ्तारी गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको छ ।

प्रकाशित सामग्रीप्रति कसैको असहमति वा उजुरी भए प्रचलित कानुन, स्थापित विधि तथा सम्बन्धित निकायमार्फत त्यसको निरूपण गरिनु पर्नेमा पत्रकारलाई पक्राउ गरी त्रसित बनाउने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य हुन नसक्ने महासंघ जापान शाखाको धारणा छ ।

नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै पत्रकारलाई निर्भयतापूर्वक आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको शाखाले उल्लेख गरेको छ । प्रेसमाथिको कुनै पनि प्रकारको हस्तक्षेपले लोकतान्त्रिक मूल्य, नागरिकको सूचनाको अधिकार तथा स्वतन्त्र पत्रकारितालाई कमजोर बनाउने महासंघको भनाइ छ ।

महासंघ जापान शाखाले वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकडको निन्दा गर्दै उहाँलाई तत्काल र बिनाशर्त रिहा गर्न नेपाल सरकार तथा सम्बन्धित निकाय समक्ष जोडदार माग गरेको छ ।

साथै, पत्रकारमाथि अनावश्यक धरपकड, त्रास तथा दबाब सिर्जना गर्ने गतिविधि तत्काल बन्द गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

Ghosanapatra_Conference_FNJ_b-2.jpg