जिज्ञान कुमार थापा ।
नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । त्यसैले पनि सन् २०२६ लाई ऐतिहासिक वर्षको रुपमा हेरिएको छ ।
सात दशक लामो सम्बन्धमा विभिन्न परियोजना अघि बढे, धेरै सम्झौता र सहकार्य भए । हिमाल र समुद्रले भौगोलिक दूरी सिर्जना गरे पनि नेपाल र जापानलाई नजिक बनाउने आधार सधैँ जनस्तरको आत्मीय सम्बन्ध रह्यो । राजनीतिक र आर्थिक सहकार्य भन्दा पर यी दुई देशलाई जोड्ने आधार विश्वास, सम्मान र मानिस–मानिस बीचको आत्मीयता नै हो ।
त्यस्तै स्मृति मध्ये एउटा सानो तर अत्यन्त अर्थपूर्ण तस्वीर आज प्रयान्त मेरो मनमा ताजै छ । सन् १९६७ अगस्ट ३१ मा जापानको राजधानी टोकियोस्थित राजदरबारमा खिचिएको उक्त तस्वीरमा जापानमा अध्ययनरत नेपालका तत्कालीन युवराज वीरेन्द्र, जापानका तत्कालीन युवराज अकिहितो तथा युवराज्ञी मिचिकोसँग देखिनु हुन्छ । उहाँहरूसँगै दुई साना बालक पनि छन् । आजका जापानी सम्राट नारुहितो र उहाँका भाइ फुमिहितो ।
आज फर्केर हेर्दा त्यो केवल औपचारिक भेटघाटको तस्वीर मात्र होइन, नेपाल–जापान सम्बन्धको आत्मीय सुरुवातको प्रतीक हो । मैले यो तस्वीर पहिलो पटक सन् २००५ मा टोकियोस्थित नेपाली राजदूत निवासमा देखेको थिएँ । त्यस बेला यो तस्वीरले यति गहिरो ऐतिहासिक अर्थ बोकेको छ भन्ने अनुभूति भएको थिएन । इतिहास केवल ठूला दस्तावेजमा मात्र होइन, यस्तै साना क्षणहरूमा पनि सुरक्षित रहने रहेछ ।
नेपाल–जापान सम्बन्धमा जापानी राज परिवारसँग को आत्मीय सम्बन्धको भूमिका अत्यन्त महत्वपूर्ण रहँदै आएको छ । उच्च तहमा विकसित विश्वास, सरलता र परस्पर सम्मानले दुई देश बीचको सम्बन्धलाई निरन्तर मजबुत बनाएको छ । त्यसका लागि हामी सधैँ कृतज्ञ छौँ । यो सम्बन्ध केवल औपचारिकता थिएन, त्यो गहिरो मानवीय सम्बन्ध थियो ।
आजका जापानी सम्राट नारुहितोको नेपालसँग विशेष भावनात्मक सम्बन्ध रहेको देखिन्छ । युवराज रहँदा नारुहितोले सन् १९८७ मा नेपाल भ्रमण गर्नुभएको थियो । हिमाल, नदी र नेपाली समाजसँग जोडिएका अनुभवले उहाँलाई गहिरो प्रभाव पारेको अनुभूति हुन्छ । विश्वका विभिन्न मञ्चहरूमा उहाँले नेपालका अनुभव उल्लेख गर्नु केवल स्मरण मात्र होइन, नेपाल प्रतिको आत्मीयताको अभिव्यक्ति पनि हो ।
आज विश्व बदलिएको छ । कूटनीतिक सम्बन्धका स्वरूप पनि परिवर्तन भएका छन् । सम्बन्ध अब केवल दरबार, सरकार वा उच्चस्तरीय भेटघाटमा सीमित छैन । तर यसको अर्थ विगतको महत्व समाप्त भएको भन्ने होइन । विगतमा निर्माण भएको विश्वास र आत्मीयतालाई नयाँ पुस्ताले महसुस गरी अझ व्यापक र व्यवहारिक रूपमा विस्तार गर्ने समय भने आएको छ ।
आज जापानमा रहेको नेपाली समुदाय यसको सबैभन्दा जीवित उदाहरण बनेको छ । हजारौँ विद्यार्थी, कामदार, व्यवसायी, परिवार र दोस्रो पुस्ताका नेपालीले दुई देश बीचको सम्बन्धलाई दैनिक जीवनमै जिउँदो बनाइरहेका छन् । उनीहरू केवल आर्थिक गतिविधिमा मात्र संलग्न छैनन् । संस्कृतिको आदानप्रदान, मूल्यमान्यताको साझेदारी र आपसी समझदारी विस्तारमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
यस सन्दर्भमा जापानमा बस्ने नेपालीको जिम्मेवारी अझ ठूलो हुन्छ । नियमको पालना गर्ने, समाजप्रति जिम्मेवार बन्ने र स्थानीय समुदायसँग घुलमिल हुने संस्कारले केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाल–जापान सम्बन्धको सकारात्मक छवि निर्माणमा पनि योगदान पुर्याउँछ एउटा नेपालीको राम्रो व्यवहारले सम्पूर्ण समुदायको सम्मान बढाउँछ ।
त्यस्तै, जापानमा रहेका नेपाली नेपालका प्रभावकारी ‘पर्यटन दूत’ पनि बन्न सक्छन् । आफ्ना सहकर्मी, साथीभाइ र जापानी समाजलाई नेपालबारे सही जानकारी दिने, नेपाल भ्रमणका लागि प्रेरित गर्ने र आफ्ना अनुभव आदनप्रदान गर्ने काम गर्न सके प्रभावकारी हुन्छ । यस्तो प्रयास औपचारिक प्रचार भन्दा पनि बलियो हुन्छ, किन कि यो विश्वासमा आधारित हुन्छ ।
नेपालमा पर्यटनको अपार सम्भावना छ । हिमाल, प्राकृतिक सौन्दर्य, संस्कृति, आध्यात्मिकता र नेपाली आतिथ्य विश्व कै लागि आकर्षणका केन्द्र हुन् । तर यी सम्भावनालाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न हामीले आफ्ना कथा सही ढंगले प्रस्तुत गर्न सक्नु पर्छ । जापानमा बस्ने नेपालीहरू त्यही कथाका सबै भन्दा विश्वसनीय वाहक बन्न सक्छन् ।
अबको नेपाल–जापान सम्बन्धलाई केवल सहायता प्राप्ति वा श्रमिक आपूर्तिको सीमित दृष्टिकोणबाट हेर्नु हुँदैन । यो सम्बन्ध ज्ञान, प्रविधि, लगानी, पर्यटन, शिक्षा र मानवीय सहकार्यमा आधारित बहुआयामिक साझेदारीका रूपमा विकसित हुनु पर्छ ।
यसमा कूटनीतिक नेतृत्वको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कूटनीति भनेको केवल औपचारिक बैठक वा भाषण होइन, यो मानिसहरूको जीवनसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी हो । समस्यालाई बुझ्ने, समाधान खोज्ने र सम्बन्धलाई राष्ट्रिय हित अनुकूल व्यवहारिक रूपमा अघि बढाउने क्षमता नै साँचो कूटनीति हो ।
सन् १९६७ को त्यो तस्वीरले देखाएको आत्मीयता र सन् १९८७ को भ्रमणले निर्माण गरेको सम्बन्धलाई जोडेर हेर्दा स्पष्ट हुन्छ । नेपाल–जापान सम्बन्ध केवल कागजी सम्बन्ध होइन, यो मानिसहरूको मनमा बसेको सम्बन्ध हो । सम्बन्ध सम्झौतामा मात्र बाँच्दैन । यो व्यवहारमा बाँच्छ ।
भेटघाटमा बाँच्छ र साझा अनुभवहरूमा बाँच्छ । आगामी वर्ष कूटनीतिक सम्बन्धको ७१ वर्ष पनि आउँछ । तर ७० वर्षको विशेष अर्थ हामीले त्यसलाई कस्तो दृष्टिले हेर्छौं भन्नेमा निर्भर गर्छ । यो अवसर केवल उत्सव मनाउने होइन, भविष्यको दिशा तय गर्ने अवसर पनि हो । विगतबाट सिक्दै, वर्तमानलाई सुदृढ गर्दै र भविष्य तर्फ आत्मविश्वासका साथ अघि बढ्ने समय हो ।
हामी सबै जहाँ छौं, जुन भूमिकामा छौँ । त्यहीँबाट नेपाल–जापान सम्बन्धलाई अझ बलियो बनाउन योगदान गर्न सक्छौँ । एक तस्वीरले सुरु गरेको आत्मीयतालाई अघि बढाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा छ । नेपाल–जापान सम्बन्ध अझ गहिरो, आत्मीय र सुदृढ बनोस् शुभकामना ।
थापा कानागावा प्रिफेक्चरका पूर्व सल्लाहकार हुन् ।
