Logo बिहिवार, आश्विन २२ गते २०८३
Logo बिहिवार, आश्विन २२ गते २०८३
  • fnjjapan2017@gmail.com
समाचार

टोकियोमा एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे ‘टोकियो घोषणापत्र’ जारी

IMG_0267.jpg

टोकियो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय तथा नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानको राजधानी टोकियोमा २५ जुलाईमा भएको एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठको अवसरमा आयोजित सम्मेलनले ९बुँदे ‘टोकियो घोषणापत्र’ समेत जारी गरेको छ ।

महासंघ केन्द्रीय समितिको समन्वय तथा जापान शाखाको आयोजनामा भएको सम्मेलनमा नेपाल पत्रकार महासंघका सबै वैदेशिक शाखा (युरोप, यूके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत शाखा) सहआयोजक थिए भने महासंघसँग आबद्ध संस्था नेपाल–अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको समेत सहकार्य थियो ।

760433086_4639011876331066_4485804884421984335_n.jpg

सम्मेलनले प्रवास पत्रकारिताको समग्र समीक्षा गर्दै नेपालको लोकतान्त्रिक मूल्य मान्यता, संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको व्यावसायिक तथा भौतिक सुरक्षा र प्रवासमा रहेका नेपाली पत्रकारको महासंघसँगको संस्थागत आबद्धतालाई थप सुदृढ बनाउने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यता तथा महासंघका उपाध्यक्ष, पदाधिकारीहरू, केन्द्रीय कार्यसमिति सदस्यहरू, सातै प्रदेशका अध्यक्षहरू, तीन जिल्ला शाखाका अध्यक्षहरू, जापानका पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरू, सञ्चारकर्मी र नागरिक समाजका विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा थियो ।

762623497_1361298265496087_5194276932993958866_n.jpg

सम्मेलनमा जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए आइसीसीका वरिष्ठ उपाध्यक्ष रोविन शेरचन लगायतको विशेष उपस्थिति थियो ।

महासंघका जापान शाखा अध्यक्ष रवीन्द्र श्रेष्ठले सम्मेलन सफल पार्न सहयोग पुर्‍याउने जापानस्थित नेपाली दूतावास, एनआरएनए जापान, विभिन्न सामाजिक संघसंस्था, सञ्चारकर्मी र स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेका छन् ।

761779383_1361683079419066_4760322292849672691_n.jpg

764388596_1325113016046696_3437439686507546873_n.jpg

DSC02218.JPGDSC02212.JPG

762997947_2295225891224974_2677634165171073291_n.jpg

 

सम्मेलनले पारित गरेका ९ बुँदे घोषणापत्र यसप्रकार छ :
१) यो सम्मेलन संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय लोकतान्त्रिक अभ्यास विपरीत नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अंकुश लगाउने उद्देश्यले सरकारले गरेका वा गर्न खोजिएका गतिविधि प्रति गम्भीर चासो तथा चिन्ता व्यक्त गर्दछ । लोकतान्त्रिक शासन व्यवस्थाको आधार स्वतन्त्र प्रेस र स्वतन्त्र अभिव्यक्ति भएकाले नेपालको संविधान, मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा लोकतान्त्रिक मूल्य मान्यता अनुरूप प्रेस मैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार आग्रह गर्दछ। साथै सञ्चार सम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकारवालासँग व्यापक परामर्श गर्न सरकारलाई आग्रह गर्दछ ।

२) श्रमजीवी पत्रकारको अधिकारको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा सम्मेलन नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको अधिकार, सम्मान र पेशागत सुरक्षाका लागि सञ्चालन गरिरहेको आन्दोलन प्रति ऐक्यबद्धता व्यक्त गर्दछ। नेपालको श्रमजीवी पत्रकार ऐन तथा प्रचलित कानुनले व्यवस्था गरेका न्यूनतम पारिश्रमिक, सेवा सुविधा, सामाजिक सुरक्षा, नियुक्ति पत्र, बिमा तथा अन्य श्रमिक अधिकारको पूर्ण कार्यान्वयन गर्न सबै सञ्चार संस्थाको ध्यानाकर्षण गराउँछ। साथै ऐनको प्रभावकारी कार्यान्वयन गराउने मुख्य जिम्मेवारी सरकारको भएकाले त्यसको अनुगमन र कार्यान्वयन तत्काल सुनिश्चित गर्न नेपाल सरकारसँग माग गर्दछ।

३) सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र कृत्रिम बुद्धिमत्ता (AI) लगायत आधुनिक प्रविधिको प्रयोगबाट उत्पन्न चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न नेपाल सरकार तथा सम्बन्धित सञ्चार संस्थाहरूलाई सम्मेलन आग्रह गर्दछ।

४) प्रवासमा बसेर नेपाली भाषा, साहित्य, संस्कृति तथा राष्ट्रिय हितको प्रवद्र्धन गर्दै पत्रकारिता गरिरहेका नेपाली पत्रकारप्रति सम्मेलन उच्च सम्मान व्यक्त गर्दछ। साथै, नेपाल पत्रकार महासंघको विधान संशोधन मार्फत वैदेशिक शाखामा आबद्ध सबै सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्ने निर्णय गर्दछ।

५) विश्वका विभिन्न देशमा विस्तार भएका नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरूको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक संरचनामा आवश्यक पुनर्संरचना गर्न सम्मेलन आग्रह गर्दछ। वैदेशिक शाखालाई समेट्ने वैदेशिक प्रदेश तथा आवश्यकता अनुसार विभिन्न महादेशलाई समेट्ने प्रदेश संरचना निर्माण गर्नु पर्ने आवश्यकता औँल्याउँदै विधान संशोधन मार्फत वैदेशिक शाखामा आबद्ध सदस्यहरूको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न पहल गर्ने निर्णय गर्दछ।

६) प्रवासमा रहेका नेपाली पत्रकारले आर्जन गरेका आधुनिक प्रविधि, ज्ञान, सीप, अनुसन्धान अनुभव तथा सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने उद्देश्यले वैदेशिक शाखाहरूलाई ज्ञान हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ।

साथै, गैरआवासीय नेपाली नागरिकलाई नेपालको संविधानले प्रत्याभूत गरेका राजनीतिक अधिकार बाहेकका अन्य सबै संवैधानिक अधिकार व्यवहारमा सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।

७) वैदेशिक शाखा तथा महासंघसँग सहकार्य गरिरहेका संस्थामा आबद्ध सदस्यहरूको नेपाल पत्रकार महासंघको मूल सदस्यता निरन्तर रहने व्यवस्था गर्न सम्मेलन आग्रह गर्दछ। साथै, जहाँ महासंघको शाखा स्थापना हुन सकेको छैन, त्यस्ता देशमा रहेका नेपाली पत्रकारलाई डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा सदस्यता व्यवस्थापन गर्न सकिने आधुनिक प्रणाली विकास गर्न माग गर्दछ।

८) नेपाल पत्रकार महासंघ तथा सम्पूर्ण वैदेशिक शाखाहरूको संयुक्त प्रयासमा विदेशमा कार्यरत नेपाली पत्रकारहरूको योगदानको सम्मान स्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गर्दछ।

९) सम्मेलन सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउने जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा क्रियाशील विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संघ संस्था, सञ्चार संस्था तथा सम्पूर्ण सहभागीहरूप्रति सम्मेलन हार्दिक आभार व्यक्त गर्दछ ।

साथै, नेपाल पत्रकार महासंघ जापान शाखाले नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश अध्यक्ष, तीन जिल्ला शाखाका अध्यक्ष, वैदेशिक शाखाहरू तथा महासंघसँग सहकार्य गरिरहेका संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६ सफलतापूर्वक आयोजना गरेकोमा शाखाका अध्यक्षसहित सम्पूर्ण आयोजक कार्यसमिति, नेपाल पत्रकार महासंघ जापान शाखामा आबद्ध पत्रकारहरू, स्वयंसेवकहरू तथा प्रत्यक्ष परोक्ष रूपमा योगदान गर्ने सबै प्रति सम्मेलन हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछ।

Ghosanapatra_Conference_FNJ_b-2.jpg